नेतृत्वकर्ता बोस बन्ने कि लीडर ?

नेतृत्वकर्ता बोस बन्ने कि लीडर ?

बहुराष्ट्रिय कम्पनी तथा सबैजसो व्यावसायिक कम्पनीहरूले एकजना व्यक्तिविशेष अर्थात् कार्यकारी निर्देशकका लागि मनग्ये खर्च गरेको पाइन्छ । नेपालमा नै सरकारी कर्मचारीको माथिल्लो तह मुख्य सचिव अथवा राष्ट्रपति, प्रधानमन्त्रीको तलब र निजी क्षेत्रका बैंकहरूको कार्यकारीहरूको तलबमानको अन्तर अत्यधिक बढी छ । हामी सबैजसो सेवाग्राहीहरूले महसूस गरेकै कुरा हो, निजी क्षेत्रको सेवा र सरकारी सेवामा किन यति फरक छ ।

यसमा थुप्रै कारण होलान् तर सबैभन्दा महत्वपूर्ण उक्त संस्थाको नेतृत्व हो । तसर्थ कुनै पनि राष्ट्र, संस्था, कम्पनीले प्रगति गर्नुमा मूलतः नेतृत्वको कार्यशैली, कार्यकुशलता र कार्यक्षमतामा भर पर्दछ । हामी सबैलाई नेतृत्वमा बस्न र लिन त मनपर्छ तर त्यसका लागि के गर्नुपर्दछ र कसरी आदर्श र सफल नेतृत्वकर्ता बन्न सकिन्छ त ?

नेतृत्व विकासका लागि थुप्रै भिडियो तथा किताब हेर्न तथा पढ्न पाइन्छ तर पनि यी कुराहरू सबै क्षेत्र, संगठन, परिस्थिति अनुकूल उपयुक्त नहुन सक्छन् । नेतृत्व किताबका सिद्धान्त भन्दा काम, जिम्मेवारी, समय र परिस्थितिले बढी विकास हुने गर्दछ ।

आत्मविश्वास

नेतृत्व विकासको पहिलो खुट्किलो भनेकै आफूले आफैंलाई विश्वासमा लिनु हो । आफैंलाई आश्वस्त बनाएर अघि बढ्नका लागि आफैंलाई स्व–उत्प्रेरणा तथा हौसला दिनुपर्दछ । डर, त्रास, भयबाट टाढा रहनु अर्थात् निडर र आँटिलो हुनु नै आत्मविश्वास हो, जसले हरेक परिस्थिति सामना गर्न सहज र सरल बनाउँछ ।
आत्मविश्वासी नेतृत्वकर्ताले संगठनको उद्देश्य प्राप्तिको लागि उपलब्ध साधन स्रोतहरूको प्रभावकारी परिचालन अत्युत्तम तरिकाले गर्ने गर्दछ । आत्मविश्वासले नेतृत्वकर्तालाई जोखिम बहन गर्न तथा दूरदर्शी निर्णय लिन लगायत कार्यमा सहयोग पु¥याउँछ ।

धैर्य

कुनै पनि विषयलाई हतारमा निर्णय गर्ने तथा तत्काल प्रतिक्रियामा गइहाल्ने गर्नुहँुदैन । आफूलाई अप्ठेरो पर्दा अर्थात् तनावको परिस्थितिमा लामो लामो श्वास तानी केही सहजतातर्फ फर्कन प्रयास गर्नुपर्छ । दीर्घकालीन प्रभाव पर्ने काम वा निर्णय तत्काल गर्नुहुँदैन । नेतृत्वले समय लगाएर पर्याप्त सूचना संकलन तथा विश्लेषण साथै आवश्यक परेमा सल्लाह, परामर्श समेत लिएर निर्णय गर्नु उपयुक्त हुन्छ । जब भावना र उत्तेजनामा बगेर निर्णय गरिन्छ त्यसले प्रत्युत्पादक परिणाम ल्याउँछ ।

बोली र व्यवहारमा तादाम्यता

कतिपय नेतृत्वकर्ता आफूलाई प्रभावकारी र अब्बल बनाउनका लागि थुप्रै विख्यात लेखकहरूको किताब पढ्नुहुन्छ र आफूले सिकेको कुरा मातहतका सहकर्मीलाई व्यवहारमा उतार्न-गर्नका लागि भन्नुहुन्छ तर नेतृत्वले सर्वप्रथम स्वयं आफैंले त्यसलाई आत्मसात् गरी व्यवहारमा उतारेमा अरूलाई भन्नु नै पर्दैन किनकि बोली भन्दा उदाहरणीय काम प्रभावकारी हुने गर्दछ ।

व्यवहारमा उतार्दा स्वयं नेतृत्वलाई सबै कुराको ज्ञान हुने गर्दछ । यसले गर्दा अरूको बारेमा उसले सोचेर मात्र कति, के र कसरी गर्ने भन्ने तथा सिकाउन सकिन्छ ।

प्रेम, माया, ममता तथा सम्मानको भाषा

हरेक प्राणीले प्रेमको भाषा छिटो र प्रभावकारी ढंगले बुझ्ने गर्दछन् तथा प्रेमको भाषा मस्तिष्कले मात्र नभई मनले नै बुझ्ने गर्दछ । तसर्थ मान्छेले प्रेमको भाषालाई सहज, सरल तथा मनैबाट स्वीकार गर्ने तथा व्यवहारमा उतार्न मन गर्दछन् ।

नेतृत्वले हरेक सहकर्मीसँग प्रेम, मुस्कान सहित सञ्चार गर्ने बानीको विकासले संगठनले गर्ने काम–कारबाहीमा प्रभावकारिता आउने र उत्पादनमुखी हुने गर्दछ । कुनै कुनै संगठनमा आजभोलि पनि डर, त्रास, धम्कीबाट प्रशासन चलाउन खोजिन्छ किनकि स्वयं नेतृत्वमा नै समस्या भएपछि उसले त्रास, भयको सिर्जना गरी काम गराउन खोज्छ जसको प्रभावकारिता हुँदैन ।

समयसापेक्ष रूपमा आफूलाई परिवर्तन

समयले धेरै कुरामा परिवर्तन खोज्छ तर हामीहरू समयको प्रवाहसँगै अगाडि बढ्न तत्पर हँुदैनौं, अन्ततः हामीलाई समयले धेरै पछाडि छोडेर गइसकेको हुन्छ ।
हामी समस्या अरूहरूमा खोजिरहेका हुन्छौं तर वास्तवमा समस्या हामीहरूभित्रको जडसूत्र हो । प्रकृतिको नियम नै हो; समय, परिस्थिति र अवस्था अनुसार आफूलाई अपडेट गरेर २१औं शताब्दीको प्रतिस्पर्धी समाजको लागि तयार पार्नु ।

अध्ययनशील

भन्ने गरिन्छ– ‘रिडर्स आर लिडर्स’ तसर्थ अध्ययनले सोचमा गतिशीलता तथा सृजनशीलता ल्याउँछ, तसर्थ प्राज्ञिक अध्ययन नभए तापनि स्व–अध्ययन निरन्तर रूपमा अघि बढाउनुपर्दछ । यसले नेतृत्वकर्तालाई परिपक्व र गतिशील बनाउने गर्दछ । समयको प्रवाह सँगसँगै अगाडि बढ्नका लागि सोचको निर्माण गर्दछ ।

साथी बन्न सक्नु

शायद हामी सबैलाई थाहा छ नै ‘बोस’ र ‘लीडर’ फरक कुरा हुन् तसर्थ लीडर बन्नका लागि प्रत्येकको पलपलको साथी बन्न सक्नुपर्दछ । यसले गर्दा सहकर्मीहरूले मनका कुरा बाँड्न सकून्, एकअर्कालाई सहयोग गर्न सकून् । कसैले कसैका लागि काम नगरी आफ्ना लागि गरेको अनुभूति गरून् र जागिरे नभई जिम्मेवार कर्मचारी बन्ने वातावरण बनोस् ।

कार्य क्षेत्रको व्यवस्थापन

चुस्त, दुरुस्त तथा प्रभावकारी ढंगबाट कार्यसम्पादन र सूचना सम्प्रेषण गर्न सक्ने कार्यक्षेत्र निर्माण गर्नुपर्दछ । कार्यक्षेत्र नेतृत्वको प्रतिबिम्ब हो जसले धेरै विषयवस्तु प्रदर्शन हुने गर्दछ । तसर्थ उपलब्ध साधन स्रोतको प्रभावकारी व्यवस्थापन हुनुपर्दछ ।

स्रोतको प्रयोग कुनै पनि पक्षपातरहित ढंगले सुझबुझका साथ गर्नुपर्दछ । हरेक कर्मचारीप्रति गरिने व्यवहार समान र भेदभावरहित हुनुपर्दछ । आवश्यकताको सिद्घान्त तथा तत्कालीन समयको मागलाई ध्यानमा राखेर अन्य साधनस्रोतको परिचालन गर्नुपर्दछ ।

उपयुक्त र कार्यान्वयनमुखी नीतिनिर्माण

कुनै पनि नेतृत्वले सबै कुरालाई सही ढंगले परिचालन तथा व्यवस्थापनका लागि उपयुक्त नीतिनिर्माण गर्न सक्नुपर्दछ । नीतिनिर्माणमा सकेसम्म धेरै कर्मचारीको सहभागिता गराउँदा कार्यान्वयनमा सहजता ल्याउने गर्दछ । कुनै पनि संघसंस्थाको उद्देश्य प्राप्तिका लागि तय गरिने रोडम्याप नै महत्वपूर्ण हो जसले गन्तव्य प्राप्तिमा सहजता हुन्छ ।

Published Media House: Onlinekhabar.com
Link: https://www.onlinekhabar.com/2021/11/1040159

 

Keep reading

पछिल्ला लेख

Articles

जेन–जीले बीजारोपण गरेको नयाँ बाटो

“जेन-जी आन्दोलनले बीजारोपण गरेको नयाँ बाटो” माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झन्डा, न कुनै नेता — तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको…

लेख पढ्नुहोस्
Articles

बालबालिकामा किन जाँदैन पढ्ने रुचि?

बालबालिकामा किन जाँदैन पढ्ने रुचि? हामीलाई कुनै खाना मन परेन भने स्वादिलो बनाउन विभिन्न परिकार थप्छौँ वा भोक जगाउने गरी पस्किन्छौँ। मिठा परिकार पाइने ठाउँ खोजी-खोजी पुग्छौँ। अभिभावकको यस्तै सक्रियताले बालबालिकामा पनि…

लेख पढ्नुहोस्
Articles

पढ्ने बानी कसरी फर्काउने?

पढ्ने बानी कसरी फर्काउने? सहरको कुनै पनि चिया पसलमा पस्नुहोस् र वरिपरि नियाल्नुहोस्। हरेक टेबलमा मान्छे छन्, तर हातमा किताब भएको एउटै जना भेटिन्न। सबैका आँखा मोबाइलको स्क्रिनमा टाँसिएका छन्, औँला निरन्तर…

लेख पढ्नुहोस्