बन्न सकिन्छ खुसी 

 बन्न सकिन्छ खुसी 

जीवनको उद्देश्य खुसी बन्नु होइन, पलपलमा खुसी बन्न सक्नु नै जीवनको सार्थकता हो । सायद खुसी नचाहने मान्छे कोही पनि नहोला तर खुसी कसरी प्राप्त गर्न सकिन्छ भनेर सुझबुझका साथ अगाडी बढ्ने मानिस कमै छौ होला । प्रत्येक मानिसलाई प्रभाव पार्ने दुईवटा तत्व हुन्छन्; ती हुन् आन्तरिक र वाह्य । आन्तरिक तत्व हाम्रो नियन्त्रण रहन्छ र जसले हामीलाई कस्तो मान्छे बन्ने, खुसी कि बेखुसी निर्धारण गर्दछ । बाह्य कारण हाम्रो नियन्त्रण बाहिर छ र जसको लागि हामी जतिसुकै प्रयास गरे पनि हामीले चाहे जस्तो बनाउन सक्दैनौँ । दैनिक जीवनमा हामीले अरु मानिसहरूलाई आफू अनुकुल बनाउन खोज्छौं अर्थात आफू जस्तै बनाउन खोज्छौँ जुन प्रकृतिको नियम बिरुद्ध हो । किन यसो भयो, त्यस्तो किन भएन, यस्तो हुनु पर्छ जस्ता अनेकन प्रश्न हाम्रो मनमा आउने गर्दछन् ।

वास्तबमा हामी यथार्थमा होइन बाहिरी दुनियामा खुसी खोजिरहेका हुन्छौँ । कस्तुरीले आफ्नो सुगन्ध थाहा नपाएर भौँतारिए जस्तै मानिसहरू पनि खुसी प्राप्तिका लागि भौँतारी रहेका छौं । खुसी हामीमा अन्तर्निहित तत्व हो र यसलाई पहिचान गर्न नसक्नु हाम्रो कमजोरी हो । खुसी प्राप्त गर्नका लागि हामीहरू निरन्तर सङ्घषर् गरिरहेका हुन्छौँ तर जुनबाट खुसी प्राप्त गर्ने भ्रममा हामीहरू दौडिरहेका हुन्छौँ त्यो प्राप्त हुन्जेल सम्म हामीसँग भएका खुसीहरू पनि खोसिइसकेको पत्तै हुँदैन । तसर्थ जुन उद्देश्य प्राप्तिका लागि हामी सङ्घर्ष गरिरहेका हुन्छौ, त्यसको प्राप्ति प्रक्रियाको पल–पलमा नै खुसी हुन सक्नु पर्दछ । जे छ, जस्तो छ, जे प्राप्त भएको छ त्यसैमा खुसी मनाउन सक्नुपर्दछ, खुसी हुनु पर्दछ । मानिस खुसी पाउन भनेर काम गर्यो भने खुसी झन टाढा पुग्छ बरु हरेक पलमा खुसि मान्दै आनन्दकासाथ काम गर्यो भने मानिस सधैं खुसी रहन सक्छ । वर्तमान समयमा भौतिकवादी जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा, कार्यव्यस्तता लगायतका कारणहरुले बेखुसीका लागि पर्याप्त आधार बनाइरहेको छ । मान्छेले मानव भएर जन्मन पाएकोमा खुसी भएर अहोभावका साथ अगाडि बढ्न सकेमा खुसी नै खुसी प्राप्त गर्न सकिन्छ । 

कसरी प्राप्त गर्न सकिन्छ खुसी ?

यी सामान्य कुराहरु ख्याल गर्न सक्यो भने खुसीका साथ जीवन जिउन सकिन्छः

१. काममा व्यस्त रहेर

जति हामीले आफूलाई इमान्दारीका साथ काममा लगलशील भई व्यस्त राख्न सक्छौँ त्यति नै धेरै खुसीका साथ बाँच्न सकिन्छ । नेपालका कुनै एउटा संस्थामा केही कामदारलाई बिना काम दुई महिना सम्म तलब सहित राखिएको थियो तर ती कामदारहरूले दुई महिना पछि आफैँले जागिर छोड्ने निर्णय लिए र उनीहरूको भनाई अनुसार काम बिनाको जागिर जत्तिको पीडा अरू केहीमा पनि हुँदो रहेनछ । जागिर नभएको अवस्थामा पनि अन्य व्यापार, व्यवसाय जे जस्तो पेशा व्यबसायमा संलग्न छौ त्यसकै काममा व्यस्त हुनु पर्छ । कुनै रचनात्मक काममा व्यस्त रहदाँ झनै खुसी मिल्छ ।

२. व्यवस्थित बनेर

व्यवस्थापन कार्यालयमा मात्र होइन, व्यवस्थापन सबैभन्दा पहिला आफ्नो व्यक्तिगत जीवन र घर परिवारमा गर्नु आवश्यक छ । जसले गर्दा हामीमा व्यवस्थित बन्ने बानीको विकास हुन्छ । असल बानी बसाल्दा त्यो हरेक क्षेत्रमा उपयोगी हुन्छ त्यसले आफूलाई मात्र होइन अरूलाई पनि खुसी दिने गर्दछ । स–साना कुरामा हामी रोष प्रकट गर्ने गर्दछौँ, त्यसको मुख्य कारण नै हाम्रो व्यक्तिगत अस्तव्यस्तता हो । तर हामी अरूलाई त्यसको दोषी ठान्छौं ।

३. अनपेक्षित आशा नगर्दा

जब हामीहरू अरूसँग आशा र अपेक्षा राख्दछौँ तब त्यो पूरा नभएमा हामी दुःखी बन्ने गर्दछौँ । तसर्थ हामीले वास्तविकता भन्दा बढी गरेको आशा, अपेक्षा, भरोसा र विश्वासले समस्या निम्त्याउँछ । त्यसैले अरुमा अनावश्यक आशा, भरोसा र विश्वास गनुर् भन्दा आफैमा विश्वास गर्नुपर्दछ ,जसले आफूलाई सक्षम बनाउँछ र जीवनमा खुसीको वहार ल्याउने गर्दछ । अरु सबैलाई खुसी बनाउछु भन्नु आफै बेखुसी हुनु हो तसर्थ आफ्नो प्रयास गर्नुहोस् तर निरास नहुनुहोस् ।

४. विश्वासिलो सम्बन्ध कायम गरेर

असल मानिसका लागि महत्वपूर्ण सम्पत्ति भनेकै विश्वासिलो सम्बन्ध हो जसको लागि आफू पनि विश्वासिलो हुनु पर्दछ । जुन विश्वास गाह्रो, अप्ठ्यारो र सङ्कटमा काम लाग्दछ भने सजिलैसँग समस्याको समाधान प्राप्त गर्न सकिन्छ । विश्वासले सहयोगी हातहरू बढ्नुका साथै धेरैको साथ प्राप्त हुन्छ र पल–पलमा खुसी पाइन्छ । त्यसैले सम्बन्धलाई सम्मान गरौँ र जीवनमा आउने प्रत्येक आरोह अवरोहहरूलाई सहर्ष र एकनासले लिने गरौँ न कि समय र परिस्थिति अनुसार सम्बन्धलाई परिवर्तन गर्ने नगरौँ ।

५. आफैँलाई प्रतिविम्वित गरेर

कसैले पनि विगतको वास्तविकतालाई बिर्सनु हुँदैन र त्यसलाई समय र परिस्थिति अनुसार आफूलाई चिन्ने र चिनाउनु पर्दछ । आडम्बरी र ढोगी जीवनशैलीलाई त्याग्ने गरौँ । अरूसँग तुलना गर्ने बानी पनि नगरौँ किन कि हरेक मानिसमा आफ्नै किसिमको विशेष गुण हुन्छ । वास्तविक र वाह्य जीवनमा फरक हुन्छ । तसर्थ आफूसँग जे छ त्यो नै परिपूर्ण छ, त्यसको भरपूर प्रयोग गर्ने गरौँ । अतितलाई सम्झेर दुःखी नहुनुहोस् भने वर्तमानमा अनावश्यक धेरै सोच्ने बानी हटाऔं, आफैँलाई मायाँ गर्ने गरौँ । जब आफूले आफैँलाई मायाँ गर्न विर्सन्छौँ, तब कहिल्यै खुसी हुन सकिँदैन । नियमित योगा, प्रणायाम, व्याम तथा ध्यान गर्ने समय निकालौं ।

६. सम्मान र सद्भावको व्यवहार गरौँ

हामीलाई अरूले सम्मान दिएको मन पर्दछ भने स्वभाविक रूपमा अरूलाई पनि हामीले समय, सम्मान र मूल्य दिएको मन पर्दछ । प्रायजसो मानिसहरूलाई उनीहरूको पद, प्रतिष्ठा, धन–सम्पत्तिको आधारमा मूल्याङ्कन गरी सम्मानको मात्रामा फरक गर्ने गरिएको देखिन्छ तर यस्तो सम्मान भित्र न त प्राप्त गर्ने खुसी हुन सक्छ न त प्रदान गर्ने नै । पद, प्रतिष्ठा र धन–सम्पत्ति अजम्बरी हुँदै होइन । मान्छेले मानवलाई गर्ने व्यवहारमा तात्वीकरूपमा फरक गर्नु हुँदैन, मात्र ठाउँ र परिस्थिति अनुसार गर्नुपर्ने औपचारिकतामा फरक हुन सक्दछ ।

७. सेवा र सहयोगी भावनाको विकास गरेर

अरूलाई/समस्यामा परेको मानिसलाई मन, वचन, कर्मले सहयोग गरौं । यस्तो सहयोगले सम्बन्धित मान्छेले पाउने आनन्द तथा उनीहरूको मुहारमा देखिने मुस्कानबाट सेवा र सहयोग गर्ने मान्छेलाई स्वभाविक रूपमा खुसी प्राप्त हुने गर्दछ । हरेक मान्छेको सामाजिक दायित्व अन्तर्गत समाजलाई आफूले सकेको जुनसुकै प्रकृतिको सहयोग र सेवा प्रदान गर्न सकिन्छ । प्रकृतिप्रति हामी सधैँ अनुग्रहित हुनुपर्दछ, किनकि प्रकृतिले नै हामीलाई सबैथोक प्रदान गरेको छ ।

८. खुसी बाँडेर

जति धेरै खुसी अरूसँग साँटिन्छ त्यति नै धेरै तपाईँमा बढ्ने चिज भनेकै खुसी हो । खुसीका हरेक पलहरूमा झनै खुसी हुँदै खुसी नै बाँड्ने गर्नुहोस्, त्यो भन्दा ठूलो खुसी दुनियामा कुनै छैन । त्यसैले हरेक सकारात्मक विषय बस्तुहरूलाई आफू भित्र सीमित नगरी बाँड्ने बानीको विकासमा मद्दत मिलोस् । आफू भलो त जगत भला,े तपाईँ खुसी त दुनिया खुसी । यसका अलावा अरुको मुहारमा खुसि ल्याउने कार्यहरु गर्रौ, जसले अन्ततः आफैलाई खुसी बनाउछ ।    

दीपक राज जोशी

शिक्षा अभियन्ता

 

Keep reading

Latest Writing

Articles

जेन–जीले बीजारोपण गरेको नयाँ बाटो

“जेन-जी आन्दोलनले बीजारोपण गरेको नयाँ बाटो” माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झन्डा, न कुनै नेता — तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको…

Read the essay
Articles

बालबालिकामा किन जाँदैन पढ्ने रुचि?

बालबालिकामा किन जाँदैन पढ्ने रुचि? हामीलाई कुनै खाना मन परेन भने स्वादिलो बनाउन विभिन्न परिकार थप्छौँ वा भोक जगाउने गरी पस्किन्छौँ। मिठा परिकार पाइने ठाउँ खोजी-खोजी पुग्छौँ। अभिभावकको यस्तै सक्रियताले बालबालिकामा पनि…

Read the essay
Articles

पढ्ने बानी कसरी फर्काउने?

पढ्ने बानी कसरी फर्काउने? सहरको कुनै पनि चिया पसलमा पस्नुहोस् र वरिपरि नियाल्नुहोस्। हरेक टेबलमा मान्छे छन्, तर हातमा किताब भएको एउटै जना भेटिन्न। सबैका आँखा मोबाइलको स्क्रिनमा टाँसिएका छन्, औँला निरन्तर…

Read the essay