सिकाई प्रक्रियामा दण्ड सजाय किन?

सिकाई प्रक्रियामा दण्ड सजाय किन?

मानसिक तथा शारिरीक रुपमा कुनै पनि किसिमको दण्ड सजाय बालबालिकाहरुलाई दिन पाइदैन र यदि दिएको पाएमा रु ७५ हजार जरिवाना र ३ बर्ष सम्म जेल हुन सक्ने हाम्रो कानुनी व्यबस्था छ । के हाम्रा विद्यालयहरुमा यसको जानकारी आम शिक्षाकर्मीहरुमा छ त ? के चेतना भएर पनि सजाय दिनु पर्ने बाध्यता छ ? वास्तविकता के हो त ? दण्ड सजाय विना सिकाउन सकिदैन त ? के हामी शिक्षाकर्मीहरु दण्ड सजाय विना सिकाउन सक्दैनौं ? सिकाई प्रक्रियासंग दण्ड सजायको कुनै साइनो छ त? यि यावत प्रश्नहरु हामी माझ उब्जने गर्दछन् ।

गुरुकुल शिक्षा प्रणालीमा ऋषी, महर्षीहरुले निःशुल्क रुपमा आफ्नै आश्रममा  बालबालिकाहरुलाई प्रेम, माया र सद्भावकासाथ शिक्षा दिने तथा काममा लगाउने गर्दथे भन्ने कुरा हामीले सुन्दै आएका छौं । तत्कालिन समयमा बिद्यार्थीहरु बढी अनुशासित, लगनशिल तथा संस्कारयुक्त हुने गर्दथे । आजभोली अनुशासन र संस्कार सहितको शिक्षा भन्ने कुरा बोलीमा, प्रचारमा, होडिङ बोर्डमा, विज्ञापनमा बढी देखिन्छ तर वास्तविक जिवन/ब्यबहारमा कम हुदै गइरहेको अनुभव भइरहेको छ ।

शिक्षा सर्टिफिकेट हो कि ? वास्तविक जिवनको ब्यबहार, जीवनशैली, भाषा, आचरण हो ? सर्टिफिकेट लाइसेन्स मात्र हो तर गाडी चलाउन सिप चाहिन्छ । तसर्थ जीवनलाई सफलतापूर्वक चलाउन र सार्थक  तुल्याइ जीवन जीउनको लागि असल ब्यबहार, जीवन जीउने सिप तथा आचरणको विकास हुन नितान्त आवश्यक छ । बालबालिकाहरुलाई भयरहित वातावरण सिर्जना गरेर मात्र उनीहरुलाई सिकाउन सम्भव छ । तर मिडियामा बेला बेलामा बिद्यालयहरुमा बालबालिकाहरुलाई अंगभंग हुनेगरी कुट्ने, ट्वाइलेटमा थुन्ने लगायतका विभिन्न तरिकाले मानसिक तथा शारिरीक रुपमा सजाय दिने क्रम निरन्तर रुपमा चलिरहेको कुरा देख्न र सुन्न पाइन्छ । के दण्ड सजाय बिना पढाउन सिकाउन सकिदैन त? पढाइ त सम्भव होला तर सिकाइ सम्भव छैन । सिकाई प्रेममा, सद्भावमा, स्नेहमा मात्र संभव छ । सुन्ने सुनाउने प्रक्रियामा भय त्रास सिर्जना गर्न सकिन्छ तर सिकाउनको लागि बिद्यार्थीको मन र मस्तिष्कको गहिरो लगाव चाहिन्छ तसर्थ त्यसको लागि तनाव रहित वातावरण आवश्यक हुन्छ ।

हाम्रो सिकाई प्रक्रियामा कहाँ समस्या छ त ?

१.घरपरिवार भित्र नै बालमैत्री वातावरण आवश्यक छ:

हाम्रो समाजमा बुबा आमा तथा घरका अग्रजहरुले बालबालिकासंग कस्तो ब्यबहार गर्ने गर्दछौं । जन्मेको २, ३ बर्ष सम्म बालबालिकाहरुले अभिभावकबाट अत्याधिक प्रेम र स्नेह पाएका हुन्छन् तर समयक्रम संगसंगै गल्ती कमीकमजोरीलाई आत्मसाथ गरी सच्चाउनका लागि उत्प्रेरित गर्नुको साटो तर्साउने कुट्ने, पिट्ने गर्ने गर्दछौं । बालबालिकाहरुलाई हेपेर बोल्ने, थर्काउने, डर–त्रास सिर्जना गरी काबुमा राख्ने अधिकांश घर परिवारमा भइरहेकैे छ । किनकी हाम्रो हिजोको सिकाइ नै यस्तो भयो र हामी अग्रजहरुले समय सापेक्षित रुपमा परिस्कृत गर्न सकेका छैनौं । तसर्थ अधिकाँश हामी अभिभावकसंग भएको एउटै विकल्प थर्काउने, त्रास सिर्जना गर्नु हो जसले क्षणिक रुपमा भए पनि समस्या समाधान भए जस्तो लाग्दछ । यसको प्रभाव प्रत्यक्ष परोक्ष रुपमा बिद्यालयमा पर्ने नै हुन्छ किनकि शिक्षक समाजकै अंग हो । बिद्यार्थीको बानी, आचरण पनि त्यसरी नै विकास भइराखेको हुन्छ । तसर्थ प्रत्येक घरपरिवारबाट दण्ड सजायको अन्त हुनुपर्दछ र त्यसका लागि अभिभावकहरुलाई विद्यालयले पनि सचेत गराउनु पर्दछ ।

२. हामीहरुमा धैर्यताको कमी छ:

हामी बुवाआमा, शिक्षाकर्मी लगायत अग्रजहरुले सिकाई प्रक्रिया लामो समयसम्म जान्छ, गल्तिबाट नै सिकिन्छ र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ तर हिजोका दिनमा म स्वयं आफैले यसरी नै सिकेको हो भन्ने कुरा हामीहरु बिर्सिसकेका छौं । बालमनोविज्ञान र उनीहरुको सिक्न सक्ने क्षमताको ज्ञान हामी शिक्षक र अभिभावकमा नहुन सक्छ । दिगो सिकाइका लागि मन र मस्तिष्कको सामुहिक प्रयास चाहिन्छ भन्ने कुरामा हेक्का गर्दैनौ; केवल मस्तिष्कलाई नियन्त्रण गर्ने गर्दछौं तर मनले स्वीकार गरेकै हुदैन । सबै बालबालिकाको सिक्न सक्ने क्षमता एकनास हुदैन र आ–आफ्नो पृष्ठभूमि अनुसार उसको अनुशासन, क्रियाकलाप र बानी ब्यबहार फरक हुन्छ । कसैलाई सिक्न लामो समय लाग्न सक्छ । लामो यात्रा गर्न कठिनाई हुन्छ तर यात्रालाइ गन्तव्यमा पुराए पछिको सफलताको परिमाण दुरगामी हुन्छ । क्षणिक रुपमा गरिने डर, त्रासले निरन्तर रुपमा दिने र पाउने दुवैलाई सधैंभरी तनावको वातावरणमा मात्र बाँच्न बाध्य बनाउदछ । तसर्थ हामी अभिभावक तथा शिक्षक धैर्यवान बनि समझदारीपूर्वक आफ्ना बालबालिका सहि दिसा निर्देश गर्न सक्नु नै बुद्धिमानी ठहर्छ । बालबालिकाबाट भएका गल्ति तथा कमीकमजोरीलाई प्रेमपूर्ण तरिकाले बोध गराएर सच्चाउदै दिगो रुपमा अनुगमन, अवलोकन, पुनर्लोकण गर्दै अघि बढ्न सकेमा विद्यार्थीमा असल बानीको विकास हुन्छ । सामान्यतया २१ दिनसम्म निरन्तर रुपमा कुनै बानी दोहोराइ रहेमा उक्त विषयवस्तुमा बानीको विकास गर्न सकिन्छ । तर निरन्तर आत्मबकोध, खवरदारी र अनुगमनको नितान्त आवश्यकता पर्दछ ।

३. कक्षाकोठाको शिक्षण प्रक्रियामा विविधताः

 सामान्यतया हाम्रो विद्यालयहरुमा एउटा विषयको लागि दिनमा ४० देखि ६० मिनेट सम्मको कक्षा घण्टीको व्यबस्थापन गरिएको पाइन्छ । तर हामी शिक्षाकर्मीहरुले कक्षामा जानु भन्दा पहिला कत्तिको तयारी गरेका हुन्छौं ? विषय वस्तुमा कत्तिको दख्खल गरेका हुन्छौं ? निरन्तर रुपमा २० देखि ३० मिनेट भन्दा बढी कुनै पनि बालबालिका अरुलाई सुन्न सक्दैनन् भने निरन्तर रुपमा ४० देखि ५० मिनट सम्म एकोहोरो रुपमा पढाउने बानीले कक्षाको वातावरण कस्तो होला ? तसर्थ एउटा कक्षा घण्टीमा कम्तीमा ३ देखि ४ वटा सम्म फरक फरक गतिविधिले मात्र बिद्यार्थीहरुको ध्यानाकर्षण गर्न सकिन्छ र सिकाईमा प्रभावकारिता आउने गर्दछ र तत् पश्चात दण्ड सजाय दिनुपर्ने अवस्था रहदैन । जब बालबालिकामा इच्छा जागृत हुन्छ तब उनीहरुले सबैकुरा ध्यान दिएर तन मनले नै ग्रहण गर्दछन् । 

४. अनपेक्षित अपेक्षा गर्नु हुदैनः

प्रत्येक बालबालिकामा फरक फरक क्षमता तथा इच्छा हुने गर्दछ तसर्थ उनीहरुको फरक क्षमता र इच्छालाई हामीहरुले सम्मान गर्न सक्नुपर्दछ । हामी प्रत्येक बालबालिका उस्तै र एकनासको भइदियोस् भन्ने अभिभावकको चाहना हुन्छ र त्यसको प्रत्यक्ष परोक्ष असर शिक्षाकर्मीहरुमा पर्ने गर्दछ । जसका कारण बालबालिकासंग अनपेक्षित आशा रहने गर्दछ र फलतः बालबालिका दवावमा पर्ने, दण्ड सजायको भागी बनाइने गरिन्छ । किताबी ज्ञान जीवनको एउटा पाटो मात्र हो तसर्थ यसलाई  नै सर्वाङीण बनाएर अनावश्यक दबाव सिर्जना गर्ने काम बन्द गर्नुपर्दछ । प्रामाणपत्र प्राप्तीका लागि मात्र सबैलाई एउटै बास्केटमा राख्नु पर्ने हुन्छ अन्यथा आवश्यक छैन । शिक्षण सिकाई तथा हाम्रो मूल्याँकन प्रणालीमा केहि सकारात्मक संकेत छन् तर सर्वाङीण रुपमा मूल्यांकन प्रणाली ३ घण्टाको परिक्षाले मात्र न्याय दिन सकेको अवस्था चाँहि होइन ।

५. आफ्नो कमि कमजोरीको विकल्प हो दण्ड सजायः

हामी अभिभावक तथा शिक्षाकर्मी आफुलाई सक्षम बनाउन सकेका छैनौं भने त्यसको सिकार बालबालिका हुने गर्दछन् । बिद्यार्थीहरुले गृहकार्य गरेनन्, बदमासी गरे, भनेको मानेनन्, झगडा गरे लगायतका थुप्रै कारणबाट बिद्यार्थीहरु दण्ड सजायको भागी हुने गर्दछन् । वास्तवमा उनीहरुलाई आफ्नो दायित्व र जिम्मेवारी बोध गराएर जिम्मेवारी बहन गराउन नसक्नु हाम्रो कमजोरी हो । बालबालिकालाई काउन्सीलिङ, मोटिभेटगर्नुको सट्टा हामीहरु कुट्ने, पिट्ने बाटो तिर लम्कीरहेका छन् । जसको प्रतिफल क्षणिक त्रसित वातावरण सिर्जना गराउनु हो । दिर्घकालिन रुपमा बालबालिका मानसिक तथा शारिरीक रुपमा अपाङ बन्ने संभावना हुने गर्दछ । त्यसको लागि शिक्षक तथा अभिभाकहरुमा चाहिने सिप, कला, क्षमता विकास गर्नु आवश्यक छ ।

अर्कोतिर हामीहरु हाम्रो व्यक्तिगत, पारिवारिक, पेशागत व्यवस्थापनमा चुकेका हुन सक्छौं । जसले गर्दा हामी स्वयंमा निहित तनाव र विवेक शुन्यताका कारण बालबालिका माथि जाइलागेर आफ्नो कमिकमजोरी ढाकछोप गर्नका लागि हामी रिसाहापना देखाउने गर्दछौं । जुन बानी हामी सबैले आत्मसाथ गरी सच्याउनु पर्दछ ।

६. बालबालिकामा सहि संस्कार रोपौःं

जन्मजात कुनै बालबालिका बदमास वा खराब आचरणका हुदैनन् । तसर्थ उनीहरु कस्तो वातावरणमा हुर्किय, कस्तो भाषा, आचरण घरपरिवारले सिकायो त्यहि सिक्ने हुन् तसर्थ बालबालिकाहरुमा समस्या छन् भने समस्याको पहिचान गरी समाधान गर्नका लागि तयारी गर्नुपर्दछ । आजभोली पनि केहि अभिभावकहरु बिद्यालयमा आएर मेरो बाबु नानी बदमास भयो गाली गरिदिनु, एक दुई चडकन लगाइदिनु भन्ने पनि छन् । यस्तो अवस्थामा अभिभावकलाई जबसम्म परिवर्तन गर्न सकिदैन बालबालिकालाई सुर्धान सकिदैन । प्रेमपूर्ण वातावरण सहितको अनुशासित वातावरणमा हुर्काएका बालबालिकालाई कसैले पनि पिट्नु पर्दैन तसर्थ समस्याको वास्तविकरुपमा दिर्घकालिन रुपमा समाधान खोज्ने हो । प्रत्येक घरका बुबाआमाले आफुलाई समय सापेक्षित रुपमा परिवर्तन गरी संस्कार सहितको असल आचरण रोप्न सकेमा धेरै समस्याको समाधान हुने गर्दछ ।

दीपक राज जोशी

 शिक्षाकर्मी

Published Media House: Onlinekhabar.com

Link: https://www.onlinekhabar.com/2022/08/1183301

 

Add Your Heading Text Here

Keep reading

Latest Writing

Articles

जेन–जीले बीजारोपण गरेको नयाँ बाटो

“जेन-जी आन्दोलनले बीजारोपण गरेको नयाँ बाटो” माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झन्डा, न कुनै नेता — तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको…

Read the essay
Articles

बालबालिकामा किन जाँदैन पढ्ने रुचि?

बालबालिकामा किन जाँदैन पढ्ने रुचि? हामीलाई कुनै खाना मन परेन भने स्वादिलो बनाउन विभिन्न परिकार थप्छौँ वा भोक जगाउने गरी पस्किन्छौँ। मिठा परिकार पाइने ठाउँ खोजी-खोजी पुग्छौँ। अभिभावकको यस्तै सक्रियताले बालबालिकामा पनि…

Read the essay
Articles

पढ्ने बानी कसरी फर्काउने?

पढ्ने बानी कसरी फर्काउने? सहरको कुनै पनि चिया पसलमा पस्नुहोस् र वरिपरि नियाल्नुहोस्। हरेक टेबलमा मान्छे छन्, तर हातमा किताब भएको एउटै जना भेटिन्न। सबैका आँखा मोबाइलको स्क्रिनमा टाँसिएका छन्, औँला निरन्तर…

Read the essay