हामी अभिभावकले सिक्नै पर्ने हो कि ?

हामी अभिभावकले सिक्नै पर्ने हो कि ?

बिद्यार्थी कि अभिभावक कसलाई सिकाउने ? पढाउने कि सिकाउने भन्ने कुरामा पक्कै पनि हामी सिकाउने कुरामा नै जोड दिने गर्दछौं । बहुसंख्यक अभिभावक र शिक्षकहरुको एउटै गुनासो छ ः बिद्यार्थीहरु पढ्दैनन् । के नयाँ पिढिले पढ्न मन नगरेको हो त? कि समय, परिस्थिति, परिवेश फरक भएकाले पढ्ने–सिक्ने प्रक्रियामा फरक भएको हो ।  सबैजसो शिक्षाकर्मी तथा अभिभावकले आफ्ना बिद्यार्थी/छोरा छारीले पढाइ/सिकाइमा मन लगाएको पक्कै पनि मनपर्दछ । तर किन बिद्यार्थीहरु पढ्न/सिक्न मन गर्दैनन् त? वास्तवमा बिद्यार्थीको पेशा काम भनेको पढ्ने नै हो भने किन आफ्नो काम गर्न नमानेको? समस्या के हो र कसरी समाधान गर्न सकिन्छ ? राम्रो गर्ने र राम्रो बनाउने प्रयास गर्नु नै मानविय स्वभाव हो तर व्यबहारमा किन लागु हुदैन त ? 

शिक्षा जीवनको महत्वपूर्ण पाटो हो । वास्तविक रुपमा जीवन जीउन सिकाउने तथा मानव भएको महशुस बनाउने महत्वपूर्ण तत्व नै शिक्षा हो । तर यति महत्वपूर्ण विषयलाई हामी अभिभावक, शिक्षाकर्मी तथा सरोकारबालापक्षहरुले बहुआयामिक ढंगले केलाउन सकिरहेका  छैनौं । तसर्थ बिद्यार्थी भाइबहिनीहरुले पढेनन्, सिकेनन् भन्नु भन्दा हामीले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ । हरेक बालबालिका अरुले ‘यसो गर’ भनेर भन्दा पनि अरुलाई देखेर भोगेर सिक्ने गर्दछन् । घर पहिलो बिद्यालय र अभिभावक पहिलो गुरु हो भन्ने बिषयलाई जबसम्म ब्यबहारमा उर्तान सकिदैन तबसम्म हामीहरुले गुनासो मात्र गर्ने हो किनकि समस्याको समाधानका लागि पहल कदमी लिएकै छैनौं भने कसरी समस्या समाधान हुन्छ ? 

अबको आवश्यकता अभिभावक शिक्षाको हो । जबसम्म अभिभावकले वर्तमान, समय, परिस्थितिलाई बुझ्न सक्दैनौ र आफुलाई रोल मोडल बनाउन सक्दैनौं; छोरा छोरीको बारेमा बिद्यालयमा, परिवारभित्र, छरछिमेकीमा कुरा काट्ने, गुनासो गर्ने अधिकार छैन ।

जिम्मेवारी कसले र कसरी लिने त ?

१. घरलाई सिक्ने थलो बनाऔःं प्रत्येक बालबलिकालाई असल बानी–ब्यवहार, आचरण, संस्कृति रोप्ने थलो घर हो । प्रत्येक अभिभावकले घरमा गर्ने क्रियाकलाप बालबालिकाहरुले नियालीरहेका हुन्छन् र त्यसैको अनुसरण गर्दछन् । हामी अभिभावकहरु बालबालिकाले आफ्ना क्रियाकलाप, बानी, ब्यबहार, आचरण बालबालिकाले बुझ्दैनन् भन्ने मानसिकतामा हुन्छौं तर दुई बर्षको बच्चाहरुमा समेत बुझ्न सक्ने क्षमता हुन्छ । हामीहरु बालबालिकालाई कस्तो बनाउन चाहन्छौं त्यही अनुसारको आचरण र ब्यबहार हामीहरुले देखाउनुपर्दछ । हरेक बालबालिको लागि परिवार ज्ञान र सिप सिक्ने सबैभन्दा ठुलो स्रोत हो ।  यदि हामी झर्केर बोल्छौ, झगडा गर्छौ वा झुठ बोल्छौ भने बालबालिकाले त्यही सिक्छन् । हामी किताब पढ्छौं भने बालबालिका पनि त्यहि गर्छन् । हामीहरुका यस्ता थुप्रै ब्यबहार र क्रियाकलाप नै बालबालिहरुका सिक्ने स्रोत हुन् । कुनै पनि बालबालिका सुनाएर, भनेर सिक्न मन गर्दैनन् र उनीहरुको मस्तिष्कले पनि लिन सक्दैन । तर देखेर, गरेर छिटो सिक्छन् र पछि सम्म सम्झिन्छन् । तसर्थ भनेर, सुनाएर होइन की देखाएर, गरेर, रोल मोडल बनेर बालबालिकाहरुलाई भने जस्तो बनाउन सकिन्छ ।

२. ठिक र वेठिक छुट्याउन सिकाऔं ः भर्खर बिद्यालय पठाएको बच्चाहरुले बिद्यालयमा शिक्षिकाले गलत पढाएमा पनि अरुले त्यसलाई सच्याउन खोज्दा पनि बच्चाहरुले म्यामले भनेको यही हो र सही हो भनि जिद्धि गर्ने गर्दछन् । यो बालबालिकाको शिक्षिका प्रतिको विश्वास हो तर शिक्षिका, अभिभावक, साथीहरुले सानै देखि जेसुकै भने पनि ठिक कुरा ठिक र बेठिक कुरा बेठिक नै हुन्छ भन्ने कुरा सिकाउनु पर्दछ । साना बालबालिकामा जे रोप्यो फल त्यही प्राप्त हुन्छ तसर्थ सानै उमेर देखि बच्चाहरुलाई सहि र गलत छुट्याउन सिकाउनु पर्दछ जसले समाजलाई सहि दिसामा लग्न सक्ने नेतृत्वको विकास हुन्छ । गलत कुरालाई निरन्तरताकासाथ गलत भन्न सक्ने आत्मविश्वास जगाउन सक्नु पर्दछ जसले गलत तत्वहरु समाजबाट किनारा लाग्ने गर्दछन् पर्दछ ।

३. अनुशासित जीवन जिउने बानी बसालौं ः बाल्यकालमा बालबालिकाका हरेक क्रियाकलापलाई हामीहरुले हाँसेर सहर्ष रुपमा स्वीकार्ने गर्दछौं । जसले बालबालिकाहरुमा जे गर्दा पनि हुन्छ, जसो गर्दा पनि हुन्छ भन्ने आडम्बर मनोभावनाको विकास हुने गर्दछ र विस्तारै बालबालिका नियन्त्रण बाहिर हुने गर्दछन् । तसर्थ सहि संस्कार र अनुशासित बानी ब्यबहारको बीउ रोप्न सक्नु नै वास्तविक रुपमा जीवनको लागि चाहिने खुड्किलो हो । इलेक्ट्रोनिक्स डिभाइसेसहरुको प्रयोगमा नियन्त्रण तथा निगरानी नितान्त आवश्यक छ जसले अनावश्यक तनाब तथा समस्याबाट टाढै राख्न सजिलो बनाउने गर्दछ । अधिकांस अभिभावकहरुको गुनासो हुनेगर्दछ–मेरो बाबुनानीले धेरै मोबाइल चलाउछ, रिसाउछ, झर्किन्छ । समस्याको मुख्य कारण अव्यबस्थित घरपरिवार तथा जीवन शैली हो ।

४. बच्चाहरुको मनोभावना बुझ्ने : हरेक बालबालिकाका लागि उसको बुवाआमा सबैभन्दा नजिकको साथी, माया गर्ने र जीवनको गोरेटो देखाउने पथपर्दशक हुन् तसर्थ बुवाआमा  तर्साउने, कुट्ने, पिट्ने, थर्काउने हुन थाले भने बच्चाहरुको भविष्य अप्ठ्यारोमा पर्ने निश्चित छ । किनकि बालबालिकाहरुले मन मिल्ने, माया गर्ने, साथ दिने आफ्नै उमेर समुहसंग मित्रता गास्न थाल्दन् र उनीहरुकै सर सल्लाहमा चल्ने गर्दछन् । आफ्नै उमेर समुहबाट कस्तो सल्लाह आउला, समस्याको समाधान होला हामी सजिलैसंग अनुमान लगाउन सक्दछौं । तसर्थ बालबालिकाहरुको भावना बुझ्ने, समस्या बुझ्ने, पारिवारिक छलफल गर्ने वातावरण सिर्जन गर्न सकेमा मात्र बालबालिकाहरुले आफुलाई चौतर्फी रुपमा विकास गर्नुका साथै बुवाआमाको भावनालाई कदर गर्ने गर्दछन् । फलत अपेक्षाकृत रुपमा बालबालिका असल तथा सफल बन्न सक्छन् ।

५. तुलना गर्ने नगरौं :कसैलाई पनि अरुसंग तुलना गरेर होच्याएको, हेपेको मन पर्दैन तसर्थ कलिला बालबालिकालाई उनीहरुको आत्मसम्मानमा चोट पुराएर होच्यायौं भने यसको परिणाम पक्कै पनि राम्रो आउदैन । हरेक बालबालिका जिनियस वा प्रतिभाका धनी हुन् । उनीहरुलाई गोडमेल गर्ने, हुर्काउने, बढाउने हरेक तरिकाले प्रयत्न निरन्तर रुपमा गर्नुपर्दछ । साना साना राम्रा प्रयासहरुको लागि प्रशंसा गरौं । राम्रो गर्न सक्छौ भन्ने आत्मविश्वास जगाउन सक्यो भने बच्चाको भविष्य उज्ज्वल हुनेमा कुनै शंका छैन ।

६. समयलाई चिनेर ब्यबहार गरौ : हामीहरु हाम्रोपालाको कुरा गरेर बालबालिकाहरुले यस्तो किन गरेनौं, हामीले यसो गरेका थियौं भन्नुको कुनै तुक छैन तर हामीहरुले गरेको संघर्ष र चुनौतीपूर्ण जीवनका पाटाहरु सुनाउने बानी गर्नुपर्दछ जसले गर्दा जीवनमा संघर्ष गर्नुपर्दछ र चुनौतीको सामना पनि गर्नु पर्दछ भन्ने भावनाको विकास हुन्छ । साथसाथै उनीहरुलाई आफ्नो  बुवा आमा प्रति गौरव होस, सम्मान जागोस् ।  

७. जीवन मूल्य शिक्षामा जोड दिऔं : शिक्षा निरपेक्ष र एकांकी बिषय होइन तसर्थ शिक्षाका बहुआयामिक पक्षहरुलाई घर तथा विद्यालयमा समेट्नु नितान्त आवश्यक छ । मानव मूल्य र मान्यता सहितको शिक्षाले मात्र वास्तविक रुपमा सुसस्कृति सहितको असल मान्छे बनाउदछ । तसर्थ शिक्षालाई जीवनका पाटोहरुसंग जोड्दै नयाँ दिल्लीमा केजरीलालको सरकारले लागु गरेको जीवन मूल्य शिक्षा कार्यक्रम सफल भई शिक्षामा आमुल परिवर्तन आएको भन्ने कुरा त हामीले सुनेकै छौ । हाल नेपालमा पनि त्यही जीवन मूल्य शिक्षालाई नेपालीकरण गरी हाम्रो परिवेशमा ल्याएर केही विद्यालयहरुले विज्ञको परामर्शमा संचालनमा ल्याइरहेका छन् । अबको मार्ग बिद्यालय र घर परिवारले मानव मानांक सहितको सापेक्षित शिक्षाको बाटोमा अघि बढ्नुको विकल्प छैन ।

दीपक राज जोशी

शिक्षाकर्मी

Keep reading

Latest Writing

Articles

जेन–जीले बीजारोपण गरेको नयाँ बाटो

“जेन-जी आन्दोलनले बीजारोपण गरेको नयाँ बाटो” माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झन्डा, न कुनै नेता — तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको…

Read the essay
Articles

बालबालिकामा किन जाँदैन पढ्ने रुचि?

बालबालिकामा किन जाँदैन पढ्ने रुचि? हामीलाई कुनै खाना मन परेन भने स्वादिलो बनाउन विभिन्न परिकार थप्छौँ वा भोक जगाउने गरी पस्किन्छौँ। मिठा परिकार पाइने ठाउँ खोजी-खोजी पुग्छौँ। अभिभावकको यस्तै सक्रियताले बालबालिकामा पनि…

Read the essay
Articles

पढ्ने बानी कसरी फर्काउने?

पढ्ने बानी कसरी फर्काउने? सहरको कुनै पनि चिया पसलमा पस्नुहोस् र वरिपरि नियाल्नुहोस्। हरेक टेबलमा मान्छे छन्, तर हातमा किताब भएको एउटै जना भेटिन्न। सबैका आँखा मोबाइलको स्क्रिनमा टाँसिएका छन्, औँला निरन्तर…

Read the essay